२२. वर्षा

बादलको जलमग्न छाती निचोरेर
जब आकास चुहिन्छ
तब माटोमा उदाउछन् असीमित खुशीहरु
उर्वर भएर बेहुलीको घुम्टो झैं
हरियाली छाउदा मुस्कुराउछन् डाडापाखाहरु
र श्रद्घाञ्जली हुन्छ खडेरीको
त्यसैले वर्ष
न्यानो आभाष हो बसन्तको
जादू हो सिर्जनाको
किनभने सृष्टिले प्रेममय साथ दिएर
आत्मीयता फैलाउछ हरेकको जीवनमा
कहिले काही हिंसात्मक बने पनि
रमाइलो हुन्छ वसन्तको आगन
उत्साहप्रद हुन्छ ऋतुराजको आगमन
चराचुरुङ्गीको आवाजहरुसंग
गुञ्जायस प्रकृतिका धुनहरु
साइनो भएर गासिन्छ मौसम
अदभूत छ यहा वर्षा
यदि बाटो भुल्यो भने कहीं
काकाकुल बन्छन् सारा प्राणीहरु
हाहाकार मच्चिएर
सम्भवतः
हट्न सक्छ पदचिन्ह
जिउदो रहनुको सूचीबाट
पहिरिन सक्छ पुरानै पहिरनमा
ब्रह्माण्ड
तर मेघ गर्जिएर बिजुली चम्कदा
चुहिन थाल्छ आकास
तब छरिन्छन् कोपिलामा मधुमुस्कानहरु
खोज्छन् गगन चुम्न कलिला मुनाहरु
अनि हराभरा बन्छ उजाड छटा
कृषकको पसिना फल्छ खेतबारीमा
त्यसैले
बादलको जलमग्न छाती निचोरेर
आकास चुहिदा
असीमित ब्यग्रता छाउछ धरतीमा
पानीका थोपाहरुले
उजाड डाडापाखाहरुको मुहारमा हरियाली छाउदा
श्रद्घान्जली हुन्छ सुख्खा यामको ।

No comments: