शुन्य शुन्याकासमा.....
जन्म्यो होला कसरी ?
गोल गोल ब्रम्हाण्डको सुनौलो मञ्च
उघ्र्यो होला कसरी ?
फङ्लङ्ग
आग्लो घचेटेर यो सृष्टिको ढोका
भरियो होला कसरी ?
रोशनी
चारैतिर हरियाली
आए होलान् कसरी ?
दुनिया भित्रको नाटकमा
तमाम यी पात्रहरु
मिथ्या कल्पना जस्तो
एउटा दन्त्य-कथा जस्तो
कविले लेखेको कविता जस्तो
थाहा छैन तर पनि धकेलिदैं परिस्थितिसंग
बाध्य भएका छौं भोग्न
बेकसुर सजायहरु
समात्दैं अनिश्चित दिनका फेरामा
ब्यहोरी रहेछौ नाटकीय पलहरु
बाधिदै दायित्वको डोरीले
हिंड्न शाहस गरिरहेछौ
आपत्तकालिन गोरेटाहरु
कोरिदै वर्तमानको अस्पष्ट आकृतिहरुसंग
नाटकका परिदृश्यहरुमा
दोहोरिन्छन् उस्तै क्षणहरु
पोतिन्छन् उस्तै रङ्गहरु
यथास्थितिबाट अनुवाद भएर
विडम्वनामा
हासो अनि रोदन
जन्म अनि मृत्यु
टेकिन्छन् प्रत्येक पाइलाहरुमा
सजीव नाटकका फाटकहरुमा
थाहा छैन,
पर्दा खस्ने हो कहिले ?
समयको
ढोका बन्द हुने हो कहिले ?
सृष्टिको ।
No comments:
Post a Comment