२४. इतिहास

नेपाली आकास
जुन बेला
पूर्वमा टिष्टा र पश्चिममा किल्ला कांगढासम्म
फैलिएको थियो निर्विवाद
तर आज किंवदन्तीमा बदलिएपछि सत्यता
पर्देशिएका छन् आगनहरु
आफ्नै कौसीबाट
केवल बोलिरहेछ इतिहास
विशाल नेपालको मानचित्रमा
त्यसैले
साक्षी मात्र भएकाछन्
जीउदै उभिएका जीर्ण लालकिल्लाहरु
योद्घाहरुले पोखेका आलो रगत र पसिनाहरु
इतिहासको पानामा मात्र
कैदी भएकाछन्
बलभद्र कुवर र भक्ती थापाका
अदम्य साहसहरु
जसले अर्पिए आफैंलाइै
देश र जनताका लागि
झण्डा फर्फराएर
तरवार खुकुरी चम्काएर
राष्ट्रभक्तीका गीतहरु गुञ्जाएर
आहुती दिएका छन्
माटोको खातिर युग पुरुषहरु
तर वर्तमानमा
बेफुर्सदी छन् इतिहास कर्मीहरु
साहस जोड्न
हतासमा छन् जीउनको लागि
थाम्न भ्याएका छैनन् वीरताका हातहरु
थप्न सकेका छैनन् भोको पेटले
इतिहासका इट्टाहरु
हडबडाउछ आफै यथार्थको इतिहास
अनि बर्बराउछ देश प्रेमका कथाहरु
लोक संस्कृतिको चोकमा
समयको गिटार समातेर
व्यथामा ओकलिरहेछ
डिस्को र पपका धुनहरु
तर यहा
देशवासीहरुको छातीमाथि
दुःखेकोछ इतिहास
योद्घाहरुले आर्जेको नेपाली भूमिमाथि
हिमालसंग युगल भएर उभ्न पर्ने हो
तर किन नितान्तै एक्लो भएर
उभेको छ इतिहास
सगरमाथाभन्दा पनि
अग्लो भएर उभ्नु पर्ने हो
अजम्बरी भएर बाच्नु पर्ने हो ।

No comments: