सृष्टिका महान् स्रष्टा
ब्रम्हाजी
उसका असंख्य पुजक मनुष्यहरु
कालो मोहले ब्युझदा
आफैंलाई ब्रह्मावतार सम्झी
जंगबहादुरले अपनाएको कोतपर्व जस्तै
हिंसा अपनाएर
तमाम मान्छेहरुमाथि
रगतको फाल्सा फाल्सामा
मनाइरहेछन् खुशीयालीहरु
मनोमानी श्रेष्ठताको पगरी गुथेर
ओहोर दोहोर गर्ने बाटाहरुमा
विछ्याइरहेछन् कुनियत
र आफैंलाई सर्वेसर्वा ठानेर
लेखिरहेछन् बठ्याईको इतिहास
तर कलियुगिन ब्रह्माजीहरु
मौकामा चौका हान्नलाई
आशिर्वाद थापेर
औकात भुलेकाछन्
र ब्युझाउन पुगेका छन्
दन्त्यकथाका मृत पात्र महिषासुर
बदलिंदो समयको धारिलो खुकुरी उचालेर
बजार्न पुगेका छन् निर्दोष मान्छेहरुको गर्धनमा
जसलाई उपलब्धी मानेका छन्
रुम्जाटारका माहुतेहरु
अनि चिथोर्न खोज्छन् विश्व मानचित्रलाई
हत्केलाले छेक्न खोज्छन् घामलाई
बलात्कार गर्न खोज्छन् समयलाई
र अवतार बदल्न खोज्छन् जीवनलाई
सृष्टिका महान् स्रष्टा बन्नलाई
तर मान्छे कहिल्यै भगवान् बन्न सक्दैन
भगवान न त मान्छे जस्तै
तैपनि युगको मजेत्रो ओढेर
कहलिएका युग पुरुषहरु
जति नै अजर बन्न चाहे पनि
कालो पाटीमा लेखेर अक्षर मेटिए झैं
मेटिएका छन्
र मेटिनेछन् समयको डष्टरले तिनीहरु
त्यसैले यहा देखिसकेका छन् सबैले
हिरोशीमा र नागाशाकीको विभत्स
यहा भोगिसकेका छन् सबैले
हिटलरको क्रुरता
अब भोग्न बाकी केही छैन
अब देख्न बाकी केही छैन
थाहा भैसकेको छ सबैलाई आफ्नो भविष्यको स्वरुप
जति नै कुशल खेल प्रदर्शन गरे पनि
वञ्चित हुनेछन् कृत्रिम ब्रह्माजीहरु
अस्वीकृत हुनेछन् सृष्टिका कृत्रिम स्रष्टाहरु ।
No comments:
Post a Comment