१७. यो जिन्दगीको नशा

रुमल्लिदै प्रत्येक गोधुली साझ
क्षत-विक्षत आफ्नै आशाहरुको माझ
खन्याउदै विवशताको बोतलबाट
समयको रित्तो प्यालाभरी-भरी
झुम्दै यथार्थको वरिपरि
बेमञ्जुर पिइरहेछु म
यो जिन्दगीको नशा
थाहा छैन यसरी
पिउनु पर्ने हो कतिञ्जेल ?
थाहा छैन यसरी
जिउनु पर्ने हो कतिञ्जेल ?
नशाबाट अलिकति तंग्रिएर
होस हराएको मान्छे बौरिए जस्तै
मुश्किलले
खोज्न थाल्छु आफैंबाट हराएका मनहरु
भावनामा अलिकति बाधिएर
झुण्ड हराएको चरी झैं
मुश्किलले
छाम्न थाल्छु आफैंबाट बिराना भएका लक्ष्यहरु
आशा थियो संयोगवस
जम्काभेट होला कि भनेर
तर यहा
उदाएर अस्ताए कति घामहरु
फक्रिएर ओइलिए कति फूलहरु
तथापि
भेट्न सकिएनन् हराएका ती मनहरु
देख्न सकिएनन बिरानो भएका ती लक्ष्यहरु
जसको असीम बेदनाले
च्यातिए धुजाधुजा भएर हृदयका पानाहरु
दुःखिरहे अलिकति पीडा थपिदा घाउहरु
तर पनि
सहेर परिस्थितिको चोट
ऐलानी छातीहरुमा
मुस्कुराउन खोज्छ जीवन
रात आछ्याएर रङ्गीन दिनहरुमा
पीडामय क्षणहरु पीउदै
उभ्न खोज्छ सपना
यहा वास्तवमा
जीवन कहा मुस्कुराएको छ र ?
सपना कहा उभिएको छ र ?
त्यसैले
रुमल्लिदै प्रत्येक गोधुली साझ
क्षतविक्षत आफ्नै आशाहरुको माझ
खन्याउदै विवशताको बोतलबाट
समयको रित्तो प्यालाभरीभरी
झुम्दै यथार्थको वरिपरि
बेमञ्जुर पिइरहेछु म
यो जिन्दगीको नशा ।

No comments: