२६. बैंशको खोजीमा

पुनः खोजीमा
विछ्याएर आशाहरु
सडक भरिभरि
पल्टाउदै अतीतका पानाहरु
कोलाहलमा घरिघरि
चाल्न थाल्छु अशक्त पाइलाहरु
हतास गरी गरी
आफैंबाट टाढिएको बैंशलाई
भेटिन्छ कि कतै भनेर......
तर देखिन्न केही पद चिन्हहरु
जसले चिथोर्न पुग्छु आवेगले
समयका नियास्रा मुहारहरु
जसले बज्रिन थाल्छन् बृद्घ छातीमाथि
वेदनाका ढुङ्गाहरु
तैपनि निर्जीव लठ्ठीको सहारामा
उभ्याएर तन्देरी मनहरु
स्पर्श गर्छु ओइलाएको आत्मालाई
तब उडेर सिमलको भुवा झैं
स्वप्नील संसारमा पुग्दा
देख्न थाल्छु आखाभरि सप्तरङ्गी बैंशहरु
अनि सल्बलाउन थाल्छन् बृद्घ देहमा
बैंशालु उन्मादहरु
भरिन थाल्छन् आफै स्फूर्ति
खुम्चिएर बास बसेका तनहरु
अनायस पवनको एक झोक्काले
भत्किन्छन् ताजमहल बनेका सपनाहरु
घृणास्पद परिवेश
कहालीलाग्दो यथार्थ
बोझमय क्षणहरु
जेनतेन पिउदा
स्वादिष्ट छैनन् वर्तमानहरु
एकान्तमा झस्किएर राती
यौवनको ताजा आश्वादनले छाती
कोरिन थाल्छन् आखा वरिपरि
दोहोर्‍याएर हेरेको चलचित्र झैं
बितेका ती सोह्र वर्षे जवानीहरु
सम्झनाबाट हटेका ती विपनीहरु
यसरी आत्माका पाउलाहरु
पुनर्जीवित हुदा भ्रमले
हत्तपत्त छाम्छु माटोभरि
अङ्गालोबाट पोखिएका बैंश
आलै छ कि भनेर .....
फूलहरु झैं बसन्तमा फूलिदिने बैंश
हेर्छु आखा तानीतानी
ओइलाएको बोटमा ढकमक्क
फुलेको छ कि भनेर......
आफैबाट पर्देशिएका बैंश
सोधिरहन्छु मूलबाटोमा हिंड्ने
प्रत्येकलाई
देख्यौ कि कसैले भनेर.......

No comments: