अन्धकार फैलिएको आत्माभित्र
विश्वासको राको बालेर
कर्तव्यलाई छाम्दा
देखिन्छन् थुप्रै हराएका गोरेटाहरु
बाधिन्छन् थुप्रै नबाधिएका लक्ष्यहरु
तर जीवनको शाश्वत पक्षलाई अङ्गालेर
प्राप्तिको लागि
गन्तव्यतिर हुइकिनु पर्दा
जतिसुकै रुझ्नु परे पनि साउने झरिमा
जतिसुकै कठाङ्ग्रिनु परे पनि हिउदको जाडोमा
साकार सपनाको पहाड
छातीमा उभ्याएपछि
अथवा युद्घभूमिको सिपाही भैसकेपछि
बाच्नु हुदैन कहिल्यै
इच्छाहरु बन्दकी राखेर
बरु कठिनले विजयका क्षणहरु उभ्याएर
बाच्नुपर्छ अटल हिमाल झै
किनकी जीवन भनेको
दीप हो उज्यालो
अन्धकारमा पनि बलिरहने
आकांक्षा हो बलिया
जीउनको लागि प्रयासरत भैरहने
यान हो जीवित
एकयुगबाट अर्को युगमा अवतरण गराउने
आभाष हो समयको
परिवर्तित अनुभूतिमा छाइरहने
तर कहिलेकही नित्य आउने दिनहरुसंग
अपरिचित बन्न पुग्दा
विना कम्पास हिडेको दिशाविहीन यात्री झै
अन्योलको भुमरीमा फस्नु पर्दा
सहासले आत्मा विश्वासको दियो लिएर
उज्यालो पाउदा
भेटिन्छन् अनगिन्ती नभेटिएका गोरेटोहरु
बाधिन्छन् अनगिन्ती नबाधिएका लक्ष्यहरु
बग्छन् अनगिन्ती नबगेका खोलाहरु
देखिन्छन् अनगिन्ती सफलतामा हिड्दै गरेका मान्छेहरु ।
No comments:
Post a Comment