६. कुन उत्सवको तयारीमा ?

दरिद्रताको टापुमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निर्मम उठाएर ओंठसम्म मदिरा
सल्बलाइ रहेछन् यत्रतत्र तिनीहरु
कुन उत्सवको तयरीमा ?

हर्षोल्लास छैन यहा कुनै विजयको
मौसम छैन यहा कुनै चाडपर्वको
तर पनि मनाइरहेछन् प्रत्येक साझ
रहस्यमय उत्सवहरु
अनभिज्ञ छन् उत्सवमा जुटेका पाहुनाहरु
अस्पष्ट छन् रमझममा उभेका आफ्न्तहरु
भोज र मोजमा छरिएको रौनकताले
बिर्सिएर आफैंलाई
कोलाहल भित्रबाट
बिष्फोटित
चियर्स आवाजहरुसंगै
मिस्सिदा
निरवताको छाप्रोमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निःसंकोच उठाएर ओंठसम्म मदिरा
खोजिरहेछन् झुम्न तिनीहरु
कुन उत्सवको तयरीमा ?

पोखिएर असमानता छ्यालव्याल
घाइते भएको देश
चर्मराइरहेछ प्रत्येक दुर्घटनाहरुले
आर्तहरुको घाउ झैं
छट्पटाइरहेछ बेदनाहरुले
रोगी मान्छेको पीडामय छात्ती झैं
तर अझैं सक्षम भएका छैनन्
मल्हम पट्टी बाध्न
उपचारार्थक देशभक्तिहरु
अझै बढ्न सकेका छैनन्
सिमा सिमामा रक्षार्थको लागि
पुरुषार्थका कदमहरु
केवल दीनताको मझेरीमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निःसन्देह उठाएर ओंठसम्म मदिरा
सोचिरहेछन् तिनीहरु
कुन उत्सवको तयरीमा ?

काचुली फेरिएर आदिम समाजबाट
क्रमशः हुदै गयौं प्रवेश
सशस्त्र युगको भीडतिर
उज्यालो पाउ"दा अलिकति विवेकको
कुल्चिरहेछौं निर्मम
आफ्नै वस्तीहरुलाई
जहा असंख्यौं चित्कारहरु छन् मानवताका
जहा असंख्यौं नाङ्गा आङ्हरु छन् स्वाभिमानका
तर चिहाएनौ कहिल्यै
यी परिवेशहरु
बरु मूर्ति झैं नतमस्क
कुल्चिएर दुनियाको उज्वल भविष्यलाई
उभिरहेछौ मपाईंत्वले
त्यसैले
दरिद्रताको टापुमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निर्धक्क उठाएर ओंठसम्म मदिरा
ओढ्न चाहिरहेछन् महानता तिनीहरु
कुन उत्सवको तयरीमा ?

No comments: