२०. भावनाको क्यान्भासमा दुनियालाई पोत्दा

हृदयको सुन्दर छटामा
यर्थाथको क्यान्भास उभ्याएर
अंगाले जति अन्तरआत्माले
भ्याए जति नाङ्गो आखाको ज्योतिले
कल्पनाको समतल भूमिबाट
कोर्न थाल्छु दुनियाका सच्चा आकृतिहरु
रङ्गीन विचारहरुको कलमले
जीवनको पानाभरी
उज्यालो र अध्यारो
एउटै समयका दुइपाटाहरु
कुल्चदै स्वच्छ भावनाले
दिनथाल्छु मूर्तरुप
मुहारमाथिको थप मुहारहरु
विवशताको बज्रपातले
तहसनहस भएका चेहराहरु
प्रसङ्गवस उदासिन बनेका मुखाकृतिहरु
अमूर्त बन्न खोज्दा
गलत आभाषमा मडारिन्छन् महशुसहरु
त्यसैले
अर्जाप्दै विचारका धारहरु
पुनःजन्माउन खोज्छु क्यान्भासमा
असिमित प्रतिविम्वहरु
तर तस्वीरहरु बोल्दैनन्
खुशीका मुस्कानहरु छर्दैनन्
तब सन्देह गर्छु आफ्नै परिश्रममा
सशंकित बन्छु आफ्नै विचारहरुमा
अनि तपस्या गर्छु
सत्यता पाउनको लागि
प्रतिविम्वहरुमा विम्वित भएर छाउनको लागि
किनकी म र तिनीहरुमा कुनै अन्तराल छैन
महरुबाट सम्बन्धित भएर
जीवन पाएकाहरु
आकृतिबाट आफन्तमा परिणत भएका
चित्रहरु
सल्बलाउन पुग्छन् कृत्रिम दुनियामा
जहा सोच्दा सोच्दै भुलिने हुन् कि ?
जहा पोत्दा पोत्दै मेटिने हुन् कि ?
त्रसित बन्छु
तस्वीरहरु म जस्तै जीउन पाउछन् कि पाउदैनन् भनेर
पोख्न थाल्छु थरिथरिका रङ्गहरु
पोत्न थाल्छु क्यान्भासको मुहारभरी
दुनियाका जीवित प्रकृतिहरु ।

No comments: