मुटु छेड्ने चित्कारहरुले
गाढा निद्राको तन्द्राबाट
एक्कासी ब्युझिएका छन् निद्रित मेरा आखाहरु
झस्किएका छन् भयभीत आवाजहरुले
र तत्काल दृष्टिहरु हुत्याउदा
देखे त्यहा हुलका हुल व्वासाहरु एकातिर
देखें त्यही निरीह मान्छेहरु अर्कोतिर
ढुङ्गा हानाहान गर्दैछन् तिनीहरु सडकमा
अस्मिताको खातिर
अध्यारो छैन
विडम्वना भैरहेछ मध्यदिनमा
सगबगाई रहेछन् भोको पेटमा
हिंस्रक जनावरहरु
क्षणभर मै कोतपर्व अपनाएर
बगाएका छन् रगतका नदीहरु
त्यसैले असुरक्षति भान भैरहेछ
आफ्नै धरती अस्मिताको खातिर
निरुपाय र असहयोगले
कमजोर भैरहेछन् मनस्थितिहरु
वर्वरतामा होमिएका छन् यथास्थितिहरु
जो आफ्नै देशमा पनि
बाच्नु परिरहेछ शरणार्थी झैं
त्यसैले बाध्य हुनु पर्दोरहेछ हतियार उठाउन
अस्मिताको खातिर
कोही चिथोर्दै छन् रक्ताम्मै पारेर स्वाभिमानलाई
कोही विशालु तरवार चम्काउदै छन् खतरा मोल्नलाई
वैमनस्यता बढिरहेछ मान्छेहरु बीच
सायद त्यसैले होला
तनावग्रस्त कुरुक्षेत्र जस्तै
गोलि हानाहान भैरहेछ
अस्मिताको खातिर
No comments:
Post a Comment