२५. एकछाक

मनुष्य जगतमा
कसरी गरौं सम्बोधन
कसरी गरौं विश्लेषण
प्राणसंग
एकछाकलाई
सम्बोधन जसरी गरे पनि
असम्भव हुन्छ यहा
छाकविनाको जीवन
उर्जा विनाको गतिशीलता
असम्भव भए झैं
त्यसैले एकछाक
महानता हो हाम्रो
अपरिहार्यता हो हाम्रो
यदि कारणवश
ब्रतका दिनहरु बिताउनु पर्‍यो भने
मिथ्या कल्पना मात्र हुन्छन् सपनाहरु
कोरा कागज झैं मात्र बन्छन्
यद्यपि
धेरै संघर्ष पछि
मुश्किलले पाइएका छाकहरु
उपभोग गर्नै नपाई
अज्ञात आफन्तहरुबाट लुटिंदा
लाचार बन्नु पर्छ
त्यही छाकको निम्ति
नपाउनुमा पाउनको लागि
होमिनुपर्छ, युद्घमा
ढुङ्गा बन्नुपर्छ कोमलतामा
किनकी असमर्थ हुन्छ यहा
छाक विनाको जीवन
त्यसैले समानान्तर रेखा बन्छ
जिउनुका खुड्किलाहरुमा
चाहे त्यो भिखारी होस्
या कुवेर
जसले जसरी जिए पनि ब्रह्माण्डमा
जसले जसरी पिए पनि दुःखसुखलाई
जिम्मेवारी हुन्छ एकछाक
जन्मदेखि मृत्युसम्म फड्को मार्नलाई
अब
कसरी गरौं सम्बोधन
कसरी गरौं विश्लेषण
एकछाकलाई
प्राणसंग
सम्बोधन जसरी गरे पनि
असम्भव हुन्छ यहा
छाकविनाको जीवन

No comments: