९. अथाह प्रश्न चिन्हहरु

अथाह
रहस्यमय एउटा पिण्डलाई
उर्बर देखेर
हरदम अंगाली रहेछैा हामी
आवास सम्झेर जसलाई
आदि अनादि कालबाट आजसम्म
आजबाट क्रमशः अस्तित्व रहुञ्जेलसम्म
जुनबेला आवादी थिएन होला
यो भू-मण्डल
थिएन होला मस्तिष्क छरेर
मानवता उमार्ने
थिएन होला समाज
आफन्तको साइनोलाई उभ्याउने
भए केवल हिंस्रक पाषण युग
तर आज कोल्टे फेरेर युगले
चौतारी भएको छ सुख दुःख बाड्ने
फूलबारी भएको छ, विचारहरु फुल्ने
त्यसैले यहा मान्छे भएको छ दुनियालाइ हाक्ने
तर क्षणभर मै अतीत बन्दै जाने समयले
भङ्ग भएका छन् ती महत्वाकांक्षी सपनाहरु
जति हिड्दै गए पनि नपुगिने गन्तव्य
पार गर्दै आधुनिक युगका उकाली ओरालीहरु
ओर्लिएका छन् मान्छेहरु
होडबाजीका जटिल मैदानमा
जहा विभाजित सपनाहरु ओढेर
अहोरात्र
अपनाइरहेछन् नाटकीय खेलहरु
जन्माइरहेछन् टेष्ट ट्युबबाट कृत्रिम सन्ततीहरु
तिनीहरुमा नरोपिन सक्छ मानव प्रवृत्तिहरु
नफुल्न सक्छ प्रेमका फूलहरु
त्यसैले विस्फारित मुद्रामा छ धर्ती
फलामका मान्छेहरु देखेर
तसर्थ
अन्योलको बाक्लो तुवालोले
कहालीलाग्दो भैसकेको छ यो आगन
असामञ्जस्यपूर्ण छ झन् कति परिस्थितिको ज्वालन
त्यसैले समयको सुरक्षति यान हाकेर
सुनौलो भविष्यको काखतिर
खै कुन्नी माडिने हुन् कसरी ?
अनगिन्ती ती मोडहरु
खै कुन्नी जितिने हुन् कसरी ?
अनगिन्ती ती होडहरु
तर यान्त्रिक प्राङ्गणको नेपथ्यबाट
उदाइरहेछन् स्नेहका घामहरु
पोतिदैंछन् जीवनका आकृतिहरु
जसले विचलित हुदै
उभ्याइदिएका छन् यान्त्रिक सौंचका ठेकेदारहरुले
अबोध मान्छेहरुको सामु
अथाह......
अथाह......
? .......प्रश्न .......चिन्हहरु

No comments: