२७. नया प्रयासहरु

दुःख र सुखका
ती दुइ पथहरु पहिल्याएर
प्रशन्नतालाई वास गराउनु छ भने
अथवा प्रतिष्ठालाई
सगरमाथा झैं उभ्याइ राख्नु छ भने
पहिचान ओढेर सगौरव उभिनु छ भने
प्रत्येकको धड्कनमा
नबीन प्रयासहरु जारी गर्नु
नितान्तै आवश्यक हुन्छ ।

डुबेर जिन्दगीको गहिराइमा
आशाका मोतीहरु टिप्नुछ भने
अथवा समयको पुरै मुटु छाम्नु छ भने
भावनाको आगनमा
सफल योजनाहरु अंगाल्नुछ भने
अमृतसरी कठिनतालाई
नवीन प्रयासहरु गतिशील तुल्यानु
अत्यन्तै जरुरी हुन्छ ।

विवशताको सागरमा उभिएर
परिस्थितिका छालहरु सहजै कुल्चनुछ भने
अथवा लम्केर आकासगंगालाई छुनुछ भने
यात्राका हरेक मोडहरु साहसले नाघ्नुछ भने
बाधाहरुको बन्धनलाई तोड्न
नवीन प्रयासहरु जाग्नु
ज्यादै आवश्यक हुन्छ ।

जिएर भावनालाई बचाई राख्नुछ भने
अथवा अध्यारोलाई कुल्चेर उज्यालो ल्याउनुछ भने
लक्ष्यहरु संगालेर गन्तव्यमा पुग्नुछभने
किंकर्तव्यविमूढ मनहरुमा
नया प्रयासहरु समेट्नु
सदैव आवश्यक हुन्छ ।
अमानवीयताको कोलाहलमा
मानवतालाई जोगाई राख्नु छ भने
अथवा महानतालाई घामसंग बाधी राख्नु छ भने
तुषारापातले ओइलाएका आत्माहरु
लालीगुरास झैं फुलाउनु छ भने
त्याग र तपस्यामा अजेय साहस बटुलेर
नया प्रयासहरु हृदयमा झ्याङ्गीनु
नितान्तै आवश्यक हुन्छ ।

No comments: