१६. जस्तै जस्तै

सोचाइहरुको समस्थलीमा उभिएर
अन्दाज गर्दा उस्तै-उस्तै
जीवनको गहिराइमा डुबेर वास्तविकतलाई छाम्दा
त्यस्तै-त्यस्तै
अब भिन्नता के भनौ
समान मान्छे भएर जिउदाका क्षणहरु
एउटै आकास सबैले ओढे जस्तै-जस्तै
समयको चाल्नोबाट भाग्यवस
छानिएर बाच्दा
आशाहरु बाधिन्छन् धेरै
जहा रङ्गीने सपनाको दुनिया
झन् हुन्छ उस्तै-उस्तै
र व्यवधानको सागरभरी मडारिने ज्वारभाटा
त्यो पनि हुन्छ त्यस्तै-त्यस्तै
अपवादमा यो मन मुस्कुराउदा
लाग्छ मलाई सारा मुस्कुराए जस्तै-जस्तै

परिस्थितिवस वर्वादिएका पलहरु
अतीत बनेर भोग्नु पर्ने पीडाहरु
हुन्छन् त्यस्तै-त्यस्तै
आफ्नाआफ्नै स्वाद हुन सक्ला
अनुभूतिहरुमा
तर दोहोरिएर आउने दिनहरु
हुन्छन् सधैंको जस्तै-जस्तै

नदीको प्रवाहसंग चालेका पाइलाहरु
यात्रामा अघिपछि भए पनि
हिंड्ने गोरेटोहरु हुन्छन् उस्तै-उस्तै
गाउवस्ती सहर जहा रहे पनि
प्रत्येकले व्यहोर्नु पर्ने अड्चनहरु
हुन्छन् त्यस्तै-त्यस्तै
अन्तराल नै के छ भनौं
मैले जिएको जिन्दगी तिमीले भोगे जस्तै-जस्तै ।

No comments: